सुर्तिजन्य उद्योगसँग सहकार्य नगर्न अपिल

Posted on: 23 Apr, 2021

वैशाख १०, काठमाडौँ  स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाले सुर्तिजन्य उद्योगसँग कुनै पनि सहकार्य नगर्न अपिल गरेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र स्वास्थ्य अधिकारी तथा सुर्ती नियन्त्रण सञ्जाल, क्यान्सर काउन्सिल नेपाल, क्यान्सर सोसाइटी नेपाल, एक्सन नेपाललगायत स्वास्थ्य संस्थाले आज अपिल जारी गर्र्दै सुर्तिजन्य उद्योगसँग कुनै सहयोग, सहकार्य नगर्न अनुरोध गरेका छन् । 

अपिलमा सामाजिक उत्तरदायित्वका नाममा सुर्तिजन्य उद्योगबाट कुनै पनि सहयोग नलिनसमेत आग्रह गरिएको छ । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानूनअनुसार सुर्तिजन्य उद्योगले आफ्नो प्रचारप्रसारका लागि कुनै पनि सङ्घसंस्थालाई सहयोग गर्न नपाउने बताउनुभयो । 

अपिलमा सुर्तीजन्य पदार्थ, नियन्त्रण र नियमन गर्ने ऐन–२०६८ को दफा १० ले सुर्तिजन्य उद्योगले कुनै पनि प्रकारको विज्ञापन तथा प्रयोजन गर्न नपाउने तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन निर्देशिका–२०७१ को परिच्छेद ३ को दफा २० को उपदफा ६ मा सार्वजनिक निकायका पदाधिकारीले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्नेलगायतका कुनै गतिविधि वा कार्यक्रममा सुर्ति उद्योगको सहयोग, सहभागिता र सहकार्य स्वीकार्य गर्नुहुँदैन भन्ने उल्लेख छ । 

चन्दले केही सङ्घसंस्थाले सुर्तिजन्य उद्योगले सामाजिक उत्तरदायित्वका नाममा आफ्नो प्रचार गर्ने उद्देश्यले लगानी गरिरहेको जानकारी दिनुभयो । “सुर्तीजन्य उद्योगले कर बुझाउँछन्, ती उद्योगले सामाजिक उत्तरदायित्वका नाममा कतै सहयोग र सहकार्य गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!