बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

Posted on: 26 Apr, 2021

वैशाख १३, काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ ।

यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।

बाँके र बर्दिया दुवै जिल्लाका सिमाना भारतसँग जोडिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!