सार्वजनिक स्थानलाई निसङ्क्रमण गर्दै काठमाडौँ महानगरपालिका

Posted on: 06 May, 2021

वैशाख  २३, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसङ्क्रमण कार्य गरिरहेको छ ।

मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निसङ्क्रमण गरिएको हो । “बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ, यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसङ्क्रमणको काम गरिरहेका छौँ”, नगर प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो । 

 गत वर्ष पनि महानगरपालिकाले सार्वजनिक स्थानसँगै मानिसको बढी भीडभाड हुने स्थानमा निसङ्क्रमण गरेको थियो । महामारीका कारण अहिले सरकारले देशका ५२ जिल्ला र केहीमा आंशिक तथा केहीमा पूर्णरूपमा बन्दाबन्दी गरेको अवस्था छ ।

यसैबीच महानगरपालिकाले बढिरहेको सङ्क्रणदरलाई ध्यान दिँदै अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ । कोभिड नियन्त्रणका लागि साना–साना एकाइमा क्वारेन्टिन, आइसोलेशनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने विषयलाई जोड दिएको पनि प्रमुख शाक्यको भनाइ छ ।

 “साना–साना धेरै आइसोलेशन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामग्री र जनशक्ति पु¥याउन कठिन हुन्छ, यस्ता ठाउँमा बिरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन, त्यहाँ कुनै कारण जोखिम सिर्जना भयो भने जिम्मेवारी लिने कोही हुँदैन, त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ठूला अस्पतालसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ”, प्रमुख शाक्यले भन्नुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!