आज मध्यरातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुँदै, पछिल्लो तीन दिनमा कति विदेशिए ?

Posted on: 06 May, 2021

वैशाख २३, काठमाडौँ | कोरोनाको नयाँ भ्यारिएन्ट संगै नेपालमा तीब्र रुपमा महामारी फैलिएपछि आज मध्यरातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुँदैछ । सरकारको निर्णय अनुसार (आज) राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक हुनेछ । 

सरकारले गत १९ गते अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेसंगै विदेश जाने तथा विदेशबाट आउनेहरुले आफ्नो उडानको मिति सारेका कारण गत मंगलबारदेखिनै विदेश जाने तथा आउनेहरुको चाप बढेको थियो । पछिल्ला दुई दिनमा मात्र यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ।

उडान रोकिने भएपछि केहि दिन पछिका टिकट काटेकाहरुले समेत टिकट अघि सारेका र विदेशबाट आउनेहरुले समेत टिकट अघि सारेर आएका कारण बिमानस्थलमा चाप बढेको हो । 


आज रातिदेखि सबै अन्तराष्ट्रिय उडानहरु बन्द हुने भएपनि भारतसँग भने सातामा दुई वटा उडान हुनेछ । आज राति अन्तराष्ट्रिय उडान बन्द हुने भनिएपनि विदेशबाट नेपाली समय अनुसार राति १२ बजे उडान भएका बिमानहरु भोली बिहान नेपालमा अवतरण गर्न दिइने बताइएको छ । अध्यागमन स्रोतका अनुसार हवाई मार्गबाट वैशाख २० गते एक हजार दुई सय पाँच जना विदेश गएका छन् भने दुई हजार तीन सय २३ जना नेपाल भित्रिएका थिए ।

त्यस्तै वैशाख २१ गते एक हजार चार सय ४० जना विदेशिएका थिए भने तीन हजार एक सय ८३ जना नेपाल आएका थिए । 

त्यस्तै हिजो बुधबार दुई हजार दुई सय ९० जना विदेश प्रस्थान भएका थिए भने तीन हजार आठ सय ८४ जना नेपाल भित्रिएका थिए । 

स्रोत: CCMC 

यस बिषयमा तपाइको प्रतिक्रिया...!