पछिल्लो २४ घण्टामा थपिए ९१९६ जना संक्रमित, ५० जनाको मृत्यु

Posted on: 07 May, 2021

वैशाख २४, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् । गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा सर्वाधिक १२५ जना संक्रमित थपिएका छन् ।

हाल २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २१ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ ।

यसमध्ये ७२ हजार ६७९ होम आइसोलेसनमा, ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा, ७२८ जना आईसीयूमा तथा २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!