चाँगुनारायणमा १०० श्ययाको आइसोलेशन वार्ड तयार

Posted on: 16 May, 2021

जेठ २, मध्यपुर थिमी (रासस)। कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनीयरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । 

होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीका लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोलेशन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिनुभयो । आइसोलेशनका लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जनलगायतका आवश्यक सामानका १०० सेट सरकारले नै उपलब्ध गराएको थियो । 

गत वर्ष कोरोना सङ्क्रमणका बेलामा लकडाउन हुँदा सरकारले उक्त कलेजमा श्यया राखेको थियो । पछि कोरोना कम भएर बिरामी राख्नुपर्ने अवस्था नभएपछि कलेजले श्यया हटाई सामान सबै गोदाममा राखेको थियो । यस वर्ष त्यही श्यया विस्तार गरिएको हो । कलेजको आइसोलेशनमा होम आइसोलेशनमा बस्न नसक्ने, अक्सिजन नचाहिने सामान्य बिरामी राखेको छ । आवश्यक परेमा अक्सिजन र स्वास्थ्यकर्मीसहितको टोली खटाइने नगर प्रमुख मिश्रले बताउनुभयो । 

नगरपालिकाले होम आइसोलेशनमा बस्ने बिरामीका लागि पनि चिकित्सकको व्यवस्था गरेको छ । नगरवासीलाई प्रत्येक दिन साँझ चिकित्सकसँग सङ्क्रमणमा परेका बिरामीले प्रत्यक्ष कुराकानी गर्ने र कस्ता औषधि सेवन गर्ने, होम आइसोलेशनमा बस्दा ध्यान दिनुपर्ने कुरा, सावधानी अपनाउनुपर्ने बारेमा चिकित्सक र बिरामीको कुराकानीसहितको चिकित्सकसँग परामर्श कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!