कचनकबलको सर्पदंश उपचार केन्द्रले पायो अनुमति

Posted on: 13 Jun, 2021

जेठ ३०, झापा | स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिनुभयो ।

महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ । स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकताअनुसार ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराउन निर्देशन दिएको सो क्षेत्रका प्रदेशसभा सदस्य वसन्त बानियाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले प्रदेश नं १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानी सर्पदंश उपचार केन्द्र र प्रदेश नं २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ । 

झापा मुलुककै सर्पदंशका बढी घटना हुने जिल्ला हो । हाल झापाको चारआली र दमकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।कचनकबलको बनियानीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । सामाजिक सञ्जालमा सर्वसाधारणदेखि राजनीतिक दलका नेता र जनप्रतिधिहरुले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिका रूपमा चर्चा गरिरहेका छन् ।

“कचनकबलबासीको लामो समयदेखिको चाहनाकारूपमा रहेको सर्पदंश उपचार केन्द्र सञ्चालन स्वीकृति प्राप्त भएको समाचारले असाध्य खुशी तुल्याएको छ”, झापा क्षेत्र न. ३ का निवर्तमान संघीय सांसद राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यसका लागि प्रयत्न गर्ने सबैलाई धन्यवाद ।”

आगामी असार ३ गते लिङ्देनले केन्द्रको विधिवत् उद्घाटन गर्नुहुने र सोही दिनबाट उपचार शुरु गरिने गाउँपालिका अध्यक्ष आलमले बताउनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकाले सर्पदंश उपचारका लागि रु सात लाख बजेटको व्यवस्था गरेको थियो ।

सर्पदंश उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै दुई जना स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको र एक जना एमबीबीएस तहका चिकित्सकसमेत नियमित उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । हाल प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीका लागि अक्सिजनको सुविधा छ । अध्यक्ष आलमले भेन्टिलेटरको अभाव रहेको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!