कसरी आयो मेलम्चीमा यत्रो बाढी ? बाढीको क्रममा मेलम्चीमा जे देखिए (२४ तस्वीर/भिडियो सहित)

Posted on: 17 Jun, 2021

असार ३, काठमाडौँ | अविरल वर्षा परेका कारण मंगलबार हेलम्बु गाउँपालिकाको मेलम्चीघ्याङभन्दा माथिल्लो पहाडी भाग नामासाङ भास्सिएर मेलम्ची नदीको मुहान क्षेत्रमा खसेपछि नदी थुनियो । त्यसको केहि समयपछि थुनिएको मेलम्ची खुल्दै जाँदा अप्रत्यासित रुपमा नदीको बहाव बढ्दै गयो र बाढीले विध्वंस मच्चाउदै आएको थियो । यसैको चपेटामा नदि किनाराका अधिकांश घरहरु परेका हुन् । 

भिडियो हेर्नुहोस् 


बाढीले हेलम्बु नाकोतेको नवनिर्मित पुल बगायो । त्यसबेलासम्म अविरल वर्षा रोकिएको थिएन, जसको कारण झनै बहाब बढिरहेको थियो । बाढीबाट माटो, ढुंगा, मुढाहरु र नदि किनाराका संरचना बग्दै आए । नदीका छेउछाउमा भएका केहि पनि कुरा बाँकी नराखी बाढी आउने क्रममा हेलम्बुका आधा दर्जन गाउँ समेत कति बगे, कति पुरिए । 


यसरी बाढी आउंदैछ भन्ने थाहा पाएपछि मेलम्ची आसपासका जनतालाई हेलाम्बुबाट पुर्व जानकारी भएपछि आधाघण्टाभीत्रै मेलम्ची ११ का नदि छेउछाउका बजार साइडका मानिसहरु सुरक्षित स्थानतिर सर्न भ्याए । ठूलो संख्यामा रहेका उनिहरु रातभरी मेलम्ची बजार माथिको डाँडाबाट बितण्डा हेर्दै बसे । 


बाढीबाट पिडित बनेका मेलम्चीका जनताले यसखाले बितण्डा सपनामा पनि सोचेका थिएनन् । बगाउदै ल्याएको लेदोसहितको बाढीले हेर्दाहेर्दै आधादर्जन पुल र नदि छेउछाउका सबैकुरालाई पुर्दै र बगाउदै ल्याएपछि बाढी मेलम्ची बजारतिर छिर्यो । रातभरी बाढीको बितण्डा हेरिरहेका एक स्थानीय भन्छन् 'यसरी झन्डै एक सय मिटर अग्लो स्थानमा समेत बाढी आईपुग्छ भन्ने अप्रत्यासित कुरा थियो । बाबुबाजेको पालादेखि यस्तो बितण्डा देखिएको थिएन । प्रकृतिसँग कसैको केहि लाग्दो रहेनछ ।' 


हेलम्बु क्षेत्रमा बाढीको प्रभाव देखिरहेका स्थानीयहरुले मेलम्ची बजारमा हुनसक्ने क्षेतीको आधा घण्टा अघिनै आंकलन गरेका थिए । त्यसैले फोनमार्फत एकाएक मेलम्ची बजार बासिले सूचना पाएका थिए । यस विषयमा एक स्थानीय भन्छन् 'जे गर्यो यो फोनले गर्यो । फोनको जमाना थिएन भने सयौंको ज्यान जाने थियो ।' मेलम्ची बजारमा ठूलो मानवीय क्षेती नहुनुमा पुर्व सूचनानै एकमात्र कारण बन्यो । अन्यथा जत्रो झरीमा पनि मेलम्ची बासीले यस्तो बितण्डाको कल्पना गरेका थिएनन् । 


मेलम्चीको बाढीबाट हेलम्बुदेखि मेलम्चीसम्म झन्डै डेढ सय घर डुबानमा परेका छन् । मेलम्ची क्षेत्रका ८ वटा रिसोर्ट, दुई मोटरेबल पुल र आधा दर्जन झोलुंगे पुल बाढीले बगाएका छन् । मेलम्ची बजारबाट धेरै तल रहेको नदिको बगर अब बजारकै तहमा उठेको छ । अधिकांश घरहरू पानीमा डुबेका छन् । 


तश्वीरहरु: अनिल अधिकारी/काठमाडौँ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!