कास्की जिल्ला मुद्दा फछ्र्योट गर्नेमा बन्यो मुलुककै पहिलो

Posted on: 13 Aug, 2016

साउन २९, कास्की । कास्की जिल्ला अदालतमा आव ०७२/७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । 

अदालतले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश नरिश्वर भण्डारीले सबैभन्दा बढी एक हजार ६९ मुद्दा फछ्र्योट गर्न सफल हुनुभएको जानकारी दिइयो । यो फछ्र्योट सङ्ख्यासँगै न्यायाधीश भण्डारीले एकै वर्षमा धेरै मुद्दा फछ्र्योट गर्नेमा मुलुककै पहिलो स्थान हासिल गर्नुभएको दावी गरिएको छ । 

यसैगरी जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेल, न्यायाधीश अनन्तराज डुम्रे, नागेन्द्रलाल कर्ण, नारायणप्रसाद दाहाल, विष्णुप्रसाद गौतमले पनि लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्नुभएको छ । 

आव ०७२÷०७३ मा तीन हजार ४५१ थान मुद्दा दर्ता भएको श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष एक हजार ९६४ थान मुद्दा दर्ता भएका थिए । यो वर्षभित्र दर्ता भएका मुद्दामा सम्बन्धबिच्छेद मुद्दा सबैभन्दा धेरै ५९१ थान दर्ता भएका छन् । आव ०७२÷०७३ मेलमिलाप केन्द्रमा पठाइएका मुद्दामध्ये १७ थान मुद्दा सफल भएका छन् । 

अदालतले सञ्चालन गरेको फैसला कार्यान्वयन विशेष अभियानबाट रु दुई लाख ७० हजार ३८४ नगद र २४ वर्ष एक महिना १३ दिन कैद असुल गर्न सफल भएको छ । 

अदालतले आव ०७३÷०७४ मा तीन हजार ८०० नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलले अगामी दिनमा मुद्दालाई थप व्यवस्थित गरेर किनारा लगाउने बताउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!