धादिङमा पहिरोले ५ वटा गाडी पुरिए, २ को मृत्यु, ६ घाइते

Posted on: 03 Jul, 2021

असार १९, काठमाडौँ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षका दोर्जे भनिने बिरबल प्रजा र भारतीय नागरिक ४५ वर्षकी सोनी देवी रहनुभएको छ ।  पहिरोले पुरिएको ना ८ ख ४५४० नम्बरको ट्रकमा बिरबल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता अञ्जन अवालले जानकारी दिनुभयो ।

अहिले पनि बिरबलको शव ट्रकमै रहेको र घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार घटना राती करीब १–२ बजेतिर भएको हो । यस्तै पहिराले परिएर घाइते हुनुभएकी सोनीको उपचारका क्रममा गण्डकी अस्पतालमा मृत्यु भएको अवालेले जानकारी दिनुभयो । घाइतेमध्ये ४ जनाको गण्डकी अस्पताल र २ जनाको चिवनमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!