'यो मायाको सागर' नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा...

Posted on: 26 Jul, 2021

खोटाङ, ११ साउन (रासस) | पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ ।  

‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आयो । रिक्वेष्ट आएको फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदीबहिनी देखेपछि उनले पनि चिनजानकै मान्छे ठानेर एसेप्ट गरिन् । तर, त्यही अपरिचितको फ्रेण्डरिक्वेस्ट एसेप्टले गर्दा दाहाल थरकी युवतीलाई नसोचेको तनाव झेल्नु परेको छ । 

पटक–पटक आफ्नै तस्बिर राखेर अपशव्द प्रयोग गरेर ‘सेक्स्सुअल’ स्टाटस लेखेर टाइमलाईनमा राखिदिने र ट्याग गरिदिन थालेपछि उनलाई तनाव भएको हो । अहिले गाउँघरमा हिँडडुल गर्नै अप्ठ्यारो हुनेगरी आक्रमण हुन थालेको उनी बताउँछिन् ।  

यसैगरी सोही ठाउँकी अर्का १९ वर्षीय र २१ वर्षीय युवती पनि ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट  पीडित छन् । ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट तिनै युवतीको तस्बिर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेका छन् । युवतीको टाइमलाइनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँग सँगै बसेर पढ्न सकिन्न । 

यतिमात्र कहाँ हो र ? ‘यो मायाको सागर’ नामक फेसबुक आइडीले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेदेखि काभ्रेसम्मका दर्जनौँ युवती पीडित भएको गुनासो प्रहरीमा आएको छ । यस्ता किसिमको अश्लिल स्टाटसले समाजमा मुख देखाउनै असहज बनाएको पीडित युवतीको गुनासो छ । 

किशोरीहरुलाई फ्रेण्ड लिस्ट खोज्ने, रिक्वेष्ट पठाउने र त्यहीबाट तस्वीर तानेर आइडीमा पोष्ट गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो । पटकपटक अश्लिल पोष्ट गर्दा परिवारमासमेत तनाव सिर्जना भएको छ । नक्कली फेसबुक एकाउण्ट बनाएर युवतीको मानमर्दन गर्ने र सामाजिकरुपमा बेइज्जत गर्ने व्यक्तिको हालसम्म पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ । 

“हाम्रो इज्जत र प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ । घर परिवार र समाजले हेर्ने दृष्टिकोणसमेत नकरात्मक बनेको छ । व्यक्तिगत जीवन व्यतित गर्नै समस्या बनाएको छ”, एक पीडित युवतीले भनिन्, “अब लजाएर चुप बसेर भएन । चुप लागेर बसिरह्यौं भने समाजले उल्टै हामीलाई नै नराम्रो ठान्ने रहेछ । थोरैले हामी निर्दोष छौँ भनेर बुझेका छन्÷बुझ्छन् । तर धेरैले त हामीलाई नै दोषी भनिरहेका छन् । हामी यसबाट उन्मुक्ति खोजिरहेका छौँ ।”

नक्कली फेसबुक आइडीबाट मानमर्दन गर्ने व्यक्तिको पहिचान एवं कारवाहीका लागि पीडित चार युवतीले जिल्ला प्रहरी कार्यालय खोटाङमा असार १२ गते र १९ गते निवेदन दिएका छन् । यस्तै, असार १३ गते प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौँमा पनि निवेदन दिएको उनीहरुले बताएका छन् । तर, हालसम्म दोषी पत्ता लाग्न सकिएको छैन । 

फेसबुक पीडितयुवतीले दिएको उजूरीको बारेमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । “यो टेक्निकल कुरा भएकाले साइबर ब्यूरोसँग समन्वय गरेर काम भइरहेको छ । त्यो मान्छे बसेर चलाइरहेको स्थान पत्ता लागिसकेको छ”, उहाँले भन्नुभयो, “त्यो मान्छे विदेशमा भएकाले को हो भन्ने पत्ता लगाउन गा¥हो भइरहेको छ । त्यसको पहिचान गर्न इन्टरपोलमार्फत प्रयास गरिरहेका छौँ ।”

पीडित युवतीले नक्कली फेसबुक आइडीबाट आफ्नै तस्वीर राखेर अश्लिल स्टाटस लेखेको कुरा असार ११ गतेमात्र थाहा पाएको बताईन् । ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट ‘पहिलो र दोस्रो भाग सकियो अब तेस्रो भाग आउँछ’ भनेर स्टाटस लेखेको पीडित युवती बताउँछन् ।

मेसेञ्जरमासमेत अश्लिल शब्द प्रयोग गरेर संवाद गर्ने गरेको पाइएको छ । यद्यपि, प्रहरीसम्म उजूरी पुगेपछि सो आइडी सञ्चालकले क्रमशः सबैलाई फ्रेण्डलिष्टबाट हटाउँदै लगेको बताइएको छ । एक युवतीको तस्वीरलाई प्रोफाइल पिक्चर बनाएका उनले हाल सो तस्वीर समेत हटाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!