पाटन नपा र सबै वडाको तालाबन्दी खुल्यो

Posted on: 18 Aug, 2021

भदौ २, बैतडी (रासस) । बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो ।

यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मकरूपले लिएको र सङ्घीय सरकारले सःशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । 

विज्ञप्तिमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र सङ्घर्ष समितिबीच विभिन्न सहमति भएपछि ताला खोलिएको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिनुभयो ।

अहिले नगरपालिकाका प्रमुख केशवबहादुर चन्द नगरबाहिर रहेका र उहाँ आउनेवित्तिकै सङ्घर्ष समितिसँग बसेर छलफल गर्ने, वार्ता भएको एक÷दुई दिनभित्रै कार्यपालिकाको बैठक बोलाएर माग सम्बोन्धन गर्न सहमति भएपछि ताला खोलिएको महराको भनाइ छ । 

सङ्घीय सरकारले बजेट भाषणका बेला बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब रु १५ हजार हुनुपर्ने र त्यसमा रु सात हजार स्थानीय सरकारले थप्नुपर्ने भनेको भए पनि पाटन नगरपालिकाले त्यो कार्यान्वयन नगरेकाले उनीहरुले तालाबन्दी गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!