चार दिनदेखि सम्पर्कविहीन किशोरी मृत फेला

Posted on: 25 Aug, 2021

भदौ ९, कर्णाली | घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृत अवस्थामा मकैबारीमा फेला परेकी छन् । खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो । विकको शव केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार शुक्रबारदेखि हराएकी निरु एकैचोटि मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृतावस्थामा भेटिएकी थिइन् । प्रहरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट गएको प्रहरी टोलीले स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पुर्याएको छ । 

“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “घटना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।” यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका इञ्चार्ज रमेश केसी र सहइञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै किशोरीमाथि बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का देखाएर आफ्नो क्षेत्रबाट प्रहरी प्रशासनको अनुसन्धानमा आवश्यक सहयोग पुर्याउने बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!