डोटीमा एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या

Posted on: 01 Sep, 2021

भदौ १६, डोटी (रासस)। जिल्ला प्रशासन कार्यालयमा प्रुमख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । 

जिल्लामा अहिले एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ । यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो । प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि अहिले निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई तोकिएको छ ।

एकजना मात्रै निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता छ । कार्यालयमा महिनौंयतादेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य छन् । लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीले सास्ती झेल्न बाध्य हुँदै आएको गुनासो गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ कर्मचारी मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!