संखुवासभा घटना: दोषी आफै घटनाबारे मिडियामा अन्तर्वार्ता दिदै हिडे

Posted on: 11 Sep, 2021

भदौ २६, काठमाडौँ । संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति आफै घटनाबारे मिडियामा अन्तर्वार्ता दिदै हिडेका थिए । घटना भएपछि संचारकर्मीहरुसँग उनले घटनापछि आफूहरु सुत्न नसकेको बताएका थिए । 

प्रहरीले अनुसन्धानको क्रममा शंकास्पद लागेकाहरुलाई सोधपुछ गर्न क्रममा लोकबहादुरले बयान फेरिरहेका थिए । प्रहरीको अनुसार बयान फेरेपछि उनी शंकाको घेरामा थिए । प्रहरीले पालैपालो सोधपुछ गर्दा मृतक तेजबहादुरका भतिज लोकबहादुर कार्कीको बयान बाझिएको थियो । घटनाबारे थाहा पाउने पहिलो व्यक्ति उनै थिए । लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो ।

प्रहरीले शंकाको घेरामा राखेपछि प्रहरीले उनको घरभित्र रगत लत्पतिएको कपडा फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ । 

यसअघि घटनाको बारेमा रिपोर्टिङका लागि पुग्नेहरुले लोकबहादुरसँग समेत अन्तर्वार्ता लिएका थिए । उनले घटनाबारे अन्तर्वार्ता दिएका थिए, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको उनले बताएका थिए ।

उनले अन्तर्वार्तामा भनेका छन् 'बडाउ(तेजबहादुर) को दुश्मनी कोहीसँग थिएन, गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा ।' 

अन्तर्वार्ताकै क्रममा पनि लोकबहादुर डराएको जस्तो देखिएका थिए । अन्तर्वार्ताको क्रममा सोधिएको प्रश्नमा थुक निल्दै उनले जवाफ दिएका छन् । उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।


प्रहरीले उनलाई पक्राउ गरेर बयान लिएपछि लोकबहादुरले आफूलाई 'पागल' भनेको कारण घटना घटाएको बयान दिएको बताइएको छ । प्रहरीका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्यले पनि घटना देखेपछि अरुलाई पनि मार्न बाध्य भएको बयान छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । 

हत्यामा दोषी लोकबहादुर यस अघि दुई पटक बैदेशिक रोजगारमा गएर आएका व्यक्ति हुन् । यसअघि उनले विदेशबाट फर्किएपछि डिप्रेसनको औषधि सेवन गर्ने गरेको बताइएको छ । दोषी लोकबहादुर मृतक तेजबहादुरका आफ्नै भतिजा हुन् ।  

गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!