जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’

Posted on: 26 Sep, 2021

असोज १०, झापा (रासस)। मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किनुभएको उहाँले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गर्नुभयो ।  उहाँको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन । 

शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो । उहाँले निरास हुँदै भन्नुभयो, “पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।” उहाँ मात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन् ।

उहाँकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ । मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन् ।

हात्ती छेक्न विसं २०७२ मा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो । सोही तारवारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताउनुभयो । “ज्यान जोगाउनै मुस्किल छ”, उहाँले भन्नुभयो, “ खै कसरी पाक्न लागेको अन्नबाली जोगाउनु अब ।”

विद्युतीय तारबारको उचित मर्मतसम्भार नुहँदा दैनिकजसो भारतीय जङ्गली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन् । प्रवेश गर्ने हात्तीले मेचीनगर–१, २, ३ र ४ मा बढी दुःख दिइरहेको उहाँको भनाइ छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ । अन्नबालीमा खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ । रकम पाउनका लागि लामो समय कुर्नुपर्ने र पटकपटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्तीपीडितले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!