रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौँ ।  रुकुम (पूर्व)लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले बुधबार सस्ने गाउँपालिकाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।

सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे।

जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले बताएको छ।

यसअघि जिल्लाका तीन वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तीन वटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिए। यो जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन्।

यसअघि ११ वटै जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । अब नेपालका ६२ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएका छन् । नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोेषणा गर्ने प्रतिबद्धता अनुसार आजसम्ममा ६२ जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा विभागका खोप शाखाका वसन्तकुमार श्रेष्ठले जानकारी दिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!