दशैँ मनाउन भारतबाट खसी-बोका तस्करी

Posted on: 08 Oct, 2021

असोज २२ , काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैँका बेला दार्चुलामा भारतीय सीमाबाट खसी-बोका तस्करी हुने गरेको पाइएको छ । भारतसँग महाकाली नदीले सीमा छुट्याएको सुदूरपश्चिमको दार्चुलामा सीमा नदी महाकाली तस्करहरूका लागि खसी-बोका तार्ने स्थान बनेको छ । 

दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नगरपालिका- १ सल्लेबगरमा महाकाली नदीबाट भेडा तार्ने क्रममा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताए ।

दशैँमा बलिका लागि भारतबाट ल्याउन लागिका नौवटा भेडाहरू सीमा पुलबाट ल्याउन नपाइने भएपछि नदीबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

राति महाकाली नदीबाट भेडा तस्करी भइरहेको खबर पाएपछि प्रहरी निरीक्षक विश्वकर्मा नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । राति नौवटै भेडाको सिङ बाँधेर तार्न खोज्दा पानीमा डुबेर भेडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेडा तार्ने कार्यमा संलनलाई नियन्त्रणमा दिएर सोधपुछपछि छाडिएको उनले बताए । मरेका भेडालाई सरोकारवालाको रोहवरमा गाडिएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!