स्याङ्जामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

Posted on: 11 Oct, 2021

असोज २५ , काठमाडौँ | स्याङ्जामा जीप दुर्घटनामा एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची उकालो बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली तथा सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँकै तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । जीपमा सवार १९ जनामध्ये दुई जनाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा र एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिप कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाको छ । दुर्घटनामा पर्नेहरू दशैँको बेला किनमेल गरी बजारबाट गाउँतर्फ फर्किदै गरेका थिए । प्रहरीका अनुसार चालकसहित अन्य दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् भने १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!