ट्याक्टर दुर्घटनामा एमाले जिल्ला अध्यक्ष पालका छोराको निधन

Posted on: 13 Oct, 2021

असोज २७, बैतडी | बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् ।

मृतक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गोकुलेश्वरबाट सतबाझ आउँदै गरेको ट्याक्टर गएराति साढे १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारलमा दुर्घटना भएको हो । दुर्घटनामा पंसेरा निवासी रुपेश कोली घाइते भएका छन् । 

मृतक पाल दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृत्यु भएको घोषित गरेका हुन् । दुर्घटनामा घाइते भएका कोलीको अवस्था सामान्य रहेको डाक्टर बसन्तराज जोशीले बताए ।

ट्याक्टर सडकभन्दा सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!