असोज २९, काठमाडौं | चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले प्रहरी अधिकृतसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।
मेरो त्यस्तो विशेष योजना केही छैन । पुलिसको अफ ड्युटी हुँदैन । मातहतसँग अल द टाइम जोडिनुपर्छ । त्यसकारण व्यक्तिगत दसैं हुँदैन । विदाको दिन पनि जागिर खाने हो । मेरो घर उपत्यकामै भएकाले एकछिन समय निकालेर आम नागरिकजस्तै टीका लगाउँछु । बुवाआमा हुनुहुन्छ । उहाँहरुबाटै टिका लगाउँछु । पारिवारिक घुमघाम र अध्ययनका लागि मैले फुर्सद नै पाउँदिन । फोन उठाउन त भ्याउँदिन । देशभरीको सुरक्षाको कुरा हुन्छ । यसमै केन्द्रीत हुने हो । ब्यारेकभित्र आ-आफ्नो युनिटले, आ-आफ्नो शैलीमा शान्ति सुरक्षाको बहाली राख्दै एकप्रकारको परम्परागत अभ्यासमा मनाउने हुन्छ । सेक्युरिटीलाई कम्प्रमाइज गरेर दसैं मान्ने पुलिसको हुँदैन । सुरक्षामै कन्सर्न हुने, दशैँमा ठूला घटना नघटुन भन्ने नै फस्ट प्राइरियोटी हो । आम पब्लिकले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन सकियो भने मेरो लागि, सिंगो संगठनका लागि दसैं त्यहीँ हो ।
दसैंमा सपरिवार बस्ने रहर नलाग्ने त होइन । जागिर खाँदा जनयुद्ध सुरु भयो । समस्याग्रस्त क्षेत्रमा पोस्टिङ भयो । छुट्टि पाउने र माग्ने अवस्था थिएन । परिवार बोलाउन पनि समस्याग्रस्त क्षेत्रमा सम्भव थिएन । चाडपर्वमा सँगै नहुने अवस्था सिर्जना भयो । पछि ह्याविट हुँदै गयो । सबै कुराले परिवारलाई खुसी राख्न सकिने रहेछ । तर, जब जब घुम्न जाने कुरा आउँछ, घरपरिवारसँगै बस्ने भन्ने कुरा आउँदा उपस्थित भएन भन्ने असन्तुष्टि परिवारमा हुन्छ ।
तर, सामान्य अवस्था हुँदा परिवार बोलाएर कार्यक्षेत्रमै मनाउने त कहिले काठमाडौंमै पोस्टिङ हुँदा घर आउने जाने अवस्थामा टीका लगाउन पाउँथे । यो मेरोमात्र होइन सबै प्रहरीको कथा हो । प्रहरीमा जागिर खाइसकेपछि घरपायक अथवा घरमा बसेर जागिर खाने सम्भावना धेरै कम रहन्छ ।
प्रहरी भइसकेपछि सँगै बस्न पाइँदैन र सबै प्रहरीका परिवारको यो गुनासो रहन्छ । तर, अब उहाँहरुले पनि बुझ्नुहुन्छ । प्रहरीको जागिर, जनताको सेवा गर्नुपर्छ, अरु जागिरजस्तो टेन टु फाइभ हुँदैन । जति बेलुका, राति भयो त्यति नै अपराधका घटना बढ्न सक्ने जोखिम हुन्छ । झन राति चनाखो भएर बस्नुपर्छ । हामीलाई धेरैले यसपटकको दसैं तिहार कस्तो भयो सोध्नुहुन्छ, मैले के भन्ने गरेको छु भने यदि त्यो चाडपर्वको बेलामा कुनै पनि अप्रिय घटना घट्न नपाई शान्तिपूर्वक सर्वसाधारणले हर्षउल्लासपूर्वक मान्ने वातावरण सिर्जना गर्न सकिएको छ भने त्यो वर्षको दसैं सफल, राम्रो र रमाइलो भयो ।
तर, नचाहँदा पनि कहिलेकाही अप्रिय घटना घट्यो र एउटा परिवारमात्रै शोकमा, समाज शोकमय भयो भने त्यसको असरले हाम्रो दसैं राम्रो भएन, खल्लो भयो भनेर भन्ने गरेको छु । व्यवहारमा त्यहीँ हो । जसरी अरुबेला सर्वसाधारण प्रहरी हाम्रो सुरक्षामा छ, गस्ती गरिरहेको छ भनेर रातभर ढुक्कले सुत्नुहुन्छ, त्यसैगरी चाडपर्वमा फेस्टी मुडमा आफन्तजनकहाँ ओहोरदोहोर गर्ने, आशिर्वाद लिने, भेटघाट गर्ने, चाडपर्व मनाउने वातावरण कुनै चिन्ताबिना ढुक्कसँग भयो भने र कुनै घटना घट्न पाएन भने हामीलाई एकदम सन्तुष्टि हुन्छ । यसपटकको चाडपर्वको बेलामा म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमै छु । मेरो परिवारहरु पनि यतै छन् । म अहिले फ्रन्टलाइनमा नभएर सुपरभाइजरी रोलमा छु । यसअघि म फ्रन्टलाइनमा थिए । त्योबेला भन्दा अलिकति केही समय निकाल्न सकिन्छ कि भन्ने खालको छ । तर, विदामा बसिँदैन । टीकाको दिन कुनै समय मिलाएर घरमा एकछिन टीका लगाउन जानेसम्मको योजना बनाएको छु । सर्वसाधारणलाई चाडपर्व मनाउने क्रममा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको परिचालनलाई थप व्यवस्थित बनाउने, थप सुरक्षा प्रत्याभूति हुने किसिमको वातावरण सिर्जना गर्नेतर्फ आफूलाई केन्द्रीत गरेको छु । त्यसैगरी ब्यारेकभित्र पनि सिनियर र जुनियर प्रहरी अधिकृत तथा जवानहरुसँग मनाउने योजना छ । प्रहरी प्रधान कार्यालयमा आईजी साप, एआईजीलगायत अग्रजसँग आशिर्वाद लिन्छु भने इच्छुक अनुज प्रहरी कर्मचारीलाई मैले पनि टीका लगाइदिने र आशिर्वाद दिन्छु ।
हामीलाई दसैंमा विदा हुँदैन । सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ । दसैंतिहार विशेष सुरक्षा योजना लागु गरेका छौं । काठमाडौंको पचासौं लाख जनसंख्याको सुरक्षा, चाडपर्व मनाउन बाहिर जाने र अन्य यहाँको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयबाटै विदा नछोड्ने भन्ने निर्देशन आएको हुनाले हामी आफ्नो ड्युटी गर्ने, ड्युटी गर्दै रमाउने र मनाउने गरेका छौं । दसैंको बेला संगठन प्रमुखसँग टीका ग्रहण गर्न जान्छौं । मातहतमा रहेका वृत्त प्रमुखहरुसँग पनि टीका आदान प्रदान हुन्छ । म दसैंमा घर (धनगढी) जान नपाएको १५ वर्ष भयो । तर बीच बीचमा बुवालाई काठमाडौं (भैंसेपाटी) बोलाएर पनि टीका ग्रहण गरेको छु । बुवा ८४ वर्ष पुग्नुभयो । आमा पनि वृद्ध हुनुहुन्छ । म काठमाडौंजस्तो संवेदनशील ठाउँको इन्चार्जको जिम्मेवारीमा छु । आमाबुवालाई एकदमै मिस गरिन्छ । घरबाट पनि गुनासो हुन्छ । तर, चाडपर्वको बेला आफूले निर्वाह गर्नुपर्ने व्यवसायिक जिम्मेवारी छ । पहिलो प्राथमिकता हाम्रो जिम्मेवारी र कर्तव्य पालना हो । त्यसमा फोकस भएर यहीँ रमाएर दसैं मनाउने भन्ने छ । घरपरिवारलाई पनि कन्भिन्स गर्छौं । उहाँहरू पनि बुझ्नुहुन्छ । साथै प्रहरी कर्मचारीलाई पनि मोटिभ गर्नुपर्ने हुन्छ । मन खल्लो नहोस् भनेर ब्यारेकै मनाउँछौं । मासुभात खाने, अनि ड्युटी गर्ने हुन्छ । ड्युटीलाई प्रभाव नपर्नेगरी पालैपालो रोटेसनमा टीका लगाइदिने हुन्छ । हामी दसैं पनि मनाउँछौं, ड्युटी पनि गर्छौं । नागरिकले ढुक्कसँग दसैं मनाउन पाएभने हामीलाई सन्तोष हुन्छ ।
कपिलवस्तुमा हिन्दु धर्मावलम्बीले दुर्गा मूर्ति स्थापना गर्ने र दसैंको टीकाकै दिन बिसर्जन गर्ने कार्यक्रम हुँदै आएको छ । बिसर्जन गर्ने क्रममा डिजे बजाउने, उफ्रिने र खासगरी कृष्णनगरमा झडप भएर मान्छे मृत्यु हुनेसम्मको घटना हुँदै आएको छ ।
त्यसकारण टीकाको दिन टीका लाउनेभन्दा पनि कर्तव्यबोधको दायित्वले त्यहाँ चनाखो भएर ड्युटीमा खटिनुपर्ने अवस्था छ । म आफू विदामा जान्न । अन्य टोलीलाई पनि मूर्ति बिसर्जन कार्यलाई शान्तिपूर्ण र हिन्दु मुस्लिमका बीचमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेपछि मात्रै विदामा जाउला भनेर स्टाण्डबाई राखिएको छ ।
दसैं मनाउने कुरामा अरु ठाउँमा जस्तै अष्टमी, नवमीमा मौलो पूजा गर्ने, सबै प्रहरी कर्मचारीसँग सँगै बसेर खाना खाने हुन्छ । टीकाको दिनमा मेरो घरपरिवार नै प्रहरी कार्यालय भएकाले इच्छुक प्रहरीहरु टीका लाउन पनि आउँछन् । तर यसपालि त्यो हुँदैन । सम्पूर्ण प्रहरी कर्मचारी दुर्गा बिसर्जन कार्यक्रममा अझ सक्रियताका साथ खट्नुपर्नेछ । कपिलवस्तुमा दुर्गामूर्ति सेलाउने नै त्यस दिन पर्ने हुनाले अलि नमिल्ने स्थिति छ । मैले आमाको हातबाट टीका नलगाएको ५ वर्ष भयो । यसपालि पनि टीका लाउन आएन, बाँचिन्छ कि मरिन्छ के हो, भेट पनि भएन भन्ने गुनासो आमाबाट आउँछ । तर, एउटा बुझाई के छ भने छोरोको जागिर नै यस्तो छ, सेवा गर्ने हो, यो आउन्न, हामी पनि घर छोडेर हिँड्न पाउँदैनौं, अरु बच्चा पनि हुन्छन् त्यसले पनि लाउन पाउँदैन भनेर आमाले पिर गरेर रुनुहुन्छ । अब यसो फकाउनुपर्छ । यसो हुँदा खल्लो त लाग्छ । तर आफू शान्ति सुरक्षा कायम गर्ने दायित्वमा बसेको भएर व्यक्तिगत चिन्ता भन्दा पनि हामीले निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने भएकाले केही खल्लो भए पनि अब बानी परिसक्यो, स्वभाविक भइसक्यो ।
दसैंको बेलामा झन् धेरै ड्युटी हुन्छ । मान्छे धेरै चाहिन्छ । तर त्यो भनेर दसैं नै नमनाउन नदिने, चाडबाड नमनाउने भन्ने हुँदैन । मिलाएर हामी ड्युटीमा असर नहुनेगरी कार्यालय प्रमुखबाट दसैं मनाउने र खानपिन गर्ने, टीका जमरा लगाउनेलगायतका सम्पूर्ण कार्यहरु हुन्छन् । जमरा राखेका छौं । यहाँ कार्यरत जति छौं त्यहीँ नै परिवारको हिसाबले ज्येष्ठ सदस्यबाट टीका जमरा लगाइदिने, भोज खाने, सामान्य नाचगान पनि हुन्छ । सकेसम्म ड्युटीलाई असर नपर्ने गरी विदा पनि छोडिएको छ ।
यहाँ भएकालाई घरको अभाव हुन नदिनेगरी यतै परिवार मान्नेगरी दसैंको तयारी गरेका छौं । त्यो हिसाबले मनाउँछौं । म घरमा टीका लाउन नपाएको तीन वर्ष भयो । सुरु सुरुमा विदा नपाउँदा अफ्ठेरो लाग्थ्यो । अब बानी परिसक्यो । घरमा पनि अब यो आउँदैन भन्ने हुन्छ । तँ आउन पाइँदैन भनेर अभिभावकको मानसिकता बनिसक्छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!