सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु

Posted on: 21 Aug, 2016

ललित बोहरा/भदौ ५, डडेल्धुरा । सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम सांस्कृतिक गौरा पर्वको चहलपहल डडेल्धुरा लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरुमा पनि सुरु भएको छ । 

यस वर्ष गौरा पर्व पर्सि मगंलबार ७ गते पञ्चमीका दिन पर्ने भएकाले गौराको अवसरमा खेलिने देउडाको रौनक छाइसकेको छ । सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला संगै तराईका कैलाली र कञ्चनपुर जिल्ला गौराको रौनकमा रमाइरहेको छ । 

गौरा पर्वको बिसर्जन नभएसम्म गौरा घर र मन्दिर परिसरमा महिला–पुरुष छुट्टा–छुट्टै रुपमा गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, धुमारी लगायतका खेल खेलेर रमाइलो गर्ने चलन छ । 

यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गति विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्गय गर्ने चलन पनि यहाँ विद्यमान छ ।

गौरा पर्व मनाइने घरमा महिलाले व्रत बसी सफा तामाको भाँडोमा बिरुडा अर्थात पाँचथरिका गेडागुडी भिजाएर राख्छन । गौरा र शिवको पूजामा अक्षताका रुपमा प्रयोग हुने बिरुडा भिजाएको दिनदेखि गौरा पर्वको थालनी भएको मानिन्छ । 

प्रत्येक गाउँ–टोलको गौरा घर अथवा मन्दिरमा मनाइने गौरा पर्व, विभिन्न बोटबिरुवाबाट गौराको प्रतिमा तयार पारी धार्मिक अनुष्ठानका साथ गौराका रुपमा प्रतिमालाई गौरा घरमा भित्र्याइन्छ । 

गौरा भित्र्याइसकेपछि श्रद्धालु महिलाले व्रत बसी गौरा घरमा गौरा र शिवको पूजाअर्चना गर्ने गर्दछन । पूजाको कार्यक्रमपछि बिरुडालाई सबैले प्रसादका रुपमा ग्रहण गर्दछन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!