पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्योः बरिष्ठ पशुविकास अधिकृत थापा

Posted on: 31 Aug, 2016

प्रज्वल पौडेल, भदौ १५, रामेछाप । पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति रामेछापका कृषकको आकर्षण बढ्दै गएको छ । जिल्लामा गत आ.व ०७२÷०७३ मा दुई करोड ५ लाख २० हजार बराबरको विमा गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिमा गरिएका पशुमा  भैसी ९७ वटा गाई ९३ वटा, बाख्रा ८०९ वटा र बङ्गुर १०३ वटा रहेका छन ।

 सरकारले ७५ र विमितको २५ प्रतिशत बिमांक रकममा पशुपक्षीको बिमा गर्न सकिने भएपछि कृषकको आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालय रामेछापका प्रमुख डाक्टर ज्ञानबहादुर थापाले बताए । उनले भने–“ छिमेकी पशुपालकले पशु बिमावापतको भुक्तानी तत्काल पाएको कारण लगानीको सुरक्षाको लागि विमातर्फ कृषकहरु आकर्षित हुन थालेका छन् ।”

जिल्लामा यस अगाडि विमा गरेको पशु मरेपछि पशु विमा गर्ने कृषकलाई रकम हस्तान्तरण गरिएकाले यस तर्फ कृषक आकर्षित भएको बरिष्ठ पशुविकास अधिकृत थापाको भनाई छ । पशुबिमा गरेपछी कुनै कारणले पशु मरेमा बीमा रकमको ९० प्रतिशत रकम कृषकलाई बिमा कम्पनीले दिने व्यवस्था छ । पशु मुलुकलाई पशुपालनबाट आत्मनिर्भर वनाउने उद्देश्यले सुरु गरेको पशु बिमा अभियान अझैपनी ग्रामीण भेगका किसानलाई पर्याप्त रुपमा जानकारी नहुँदा प्रभावकारी हुन सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!