डडेल्धुरामा बजार अनुगमन नहुँदा महँगी बढ्यो

Posted on: 03 Sep, 2016

ललित बोहरा/भदौ १८, डडेल्धुरा । सरकारले कालोबजारी र महँगी नियन्त्रणका लागि विभिन्न जिल्लामा बजार अनुगमन गरिरहेको छ । 

कतिपय ठाउँमा गरिएको अनुगमन प्रभावकारी नभएको गुनासोसमेत आइरहेको छ । तर डडेल्धुरामा भने अत्यासलाग्दो गरी महँगी बढे पनि सम्बन्धी पक्षले अहिलेसम्म बजार अनुगमन गर्न सकेको छैन । अनुगमनका लागि जिल्ला अनुगमन समितिले कुनै चासो नै देखाएको छैन ।  

अहिले डडेल्धुरामा तरकारी लगायत दैनिक उपभोग्य बस्तु चामल, चिउरा, खानेतेल लगायतका सामानको मूल््य बढेको ब्यापारीहरु बताएका छन् ।  अहिले आलु, काउली, बोडी लगायतका तरकारीको भाउ बृद्धि भएको तरकारी ब्यापारी बताए छन् ।  स्थानीयले प्रभावकारी ढंगबाट बजार अनुगमन गर्नुपर्ने माग गरिरहेका छन् । 

झारो टार्नको निम्ति मात्रै गरिने बजार अनुगमनको कुनै अर्थ नहुने स्थानीय बताए छन् ।  सामान किन्दा उपभोक्ताहरु पनि चनाखो हुनुपर्ने, अनुगमन देखावटी नभएर यथार्थ परक हुनुपर्ने र बजार अनुगमन हुनुभन्दा पहिल्यै नै सूचना पाएर म्याद गुज्रिएका तथा अखाद्य सामानहरु ब्यापारीहरुले लुकाउने गरेको सर्वसाधारणको गुनासो छ । 

कृषकहरुले उत्पादन गरेको तरकारी समेत विचौलिया अर्थात ब्यापारीहरुले खरिद गरेर बिक्रीगर्दा उनीहरुले समेत राम्रो मूल्य पाउन सक्दैन्न भने ब्यापारीको हातमा तरकारी परेपछि तेब्बर बढी नाफा लिई बिक्री गर्ने हुनाले सर्वसाधारणलाई समस्या भएको छ । 

 तरकारी तथा दैनिक उपभोग्य वस्तुको मात्रै नभएर होटल ब्यवसायीले समेत गुणस्तरहीन तथा अखाद्य बस्तुहरु मनपरी बिक्री गरिरहेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!