वर्षातका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति

Posted on: 03 Sep, 2016

भदौ १८, पोखरा । बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ । 

 मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटामा ठाउँ ठाउँमा पहिरो गएको छ । वर्षात्सँगै छोरेपाटनदेखि निर्मलपोखरी भरतपोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिराले क्षति पु¥याएपछि यातायात सञ्चालनका कठिनाइ भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए । 

 बिहीबार रातिको वर्षात्का कारण उक्त सडकखण्डको धारापानीमा पहिरो गएपछि अवरुद्ध बाटो सडक कर्मचारी र स्थानीयवासीको सक्रियतामा शुक्रबार मात्र खुलाइएकामा आज पुनः अवरुद्ध भएको उपभोक्ता समितिका सचिव गुरुप्रसाद पौडेलले बताए । 

 सडक अवरुद्ध भएसँगै जिविस कास्कीका इन्जिनियरसहितको प्राविधिक टोलीले शुक्रबार बाटाको स्थलगत अवलोकन गरेको थियो । वर्षात्का कारण लेखनाथ–१८ स्थित भरतपोखरी बहुउद्देश्यीय सामुदायिक भवन परिसरमा पहिरो गएपछि भवन जोखिममा परेको भवन संरक्षण समितिका कोषाध्यक्ष गोविन्द लम्सालले बताए । वर्षात्सँगै लेखनाथ नगरपालिकाका तालचोक शिशुवा लगायत स्थान जलमग्न भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!