भारतीयलाई पोखरा पठाएर यसरी भयो अपहरण, अपहरणमा १० जनाको संलग्नता

Posted on: 04 Sep, 2016

भदौ १९, पोखरा | भारतीय नागरिकलाई नेपाल पठाएर पोखरामा बन्धक बनाई १ करोड फिरौती मागिएको खुलाशा भएको छ । 

भारतको उत्तरप्रदेश महाराजगन्ज जिल्लामा पर्ने सुनौली जुगौलीका सोनु भनिने खुर्सिद अहमदलाई भारतीयले केहि नेपालीको समेत संलग्नतामा सुनको असर्फीको बजार बुझ्न भन्दै नेपाल पठाएर अपहरण गरि कास्की लेखनाथको एक घरमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो । 

प्रहरीका अनुसार खुर्सिदलाई उनका केही साथीले आफूहरूसँग सुनको असर्फी रहेको र त्यसको भारतमा भन्दा नेपालमा राम्रो बजार रहेको भन्दै बुझ्न नेपाल पठाएका थिए । प्रहरीको अनुसार  खुर्सिदलाई एउटा असर्फी नमुनाका लागि दिएर भारतीय नागरिकले नेपाल पठाएका थिए । असर्फिको बजार बुझ्ने क्रममा उनि विभिन्न व्यक्तिसँग सम्पर्क गर्दै पोखरा आईपुगे । यही क्रममा लेखनाथको घरमा बन्धक बनाएर उनलाई राखिएको थियो । बन्धक बनाउनेहरुले उनको दाजुसँग १ करोडको फिरौती माग गरे र प्रहरीलाई थाहा दिए भाईको हत्या गरिदिने चेतावनी दिए । 

अपहरणकारीको धम्किपछि खुर्सिदका दाजु समसेर अहमद रुपन्देही प्रहरीको सम्पर्कमा आएर निवेदन दिए । निवेदन पछि खुर्सिदको अवस्था बारे प्रहरीले खोजि गर्यो । उनि पोखरा पुगेको खुलेपछि कास्की प्रहरीले उनको खोजी सुरु गर्यो । 

सोमबार बाहिरबाट चुक्कुल लगाएर अपहरणकारी बाहिर निस्केका बेला खुर्सिदले डोरीको सहायताबाट बाहिर निस्किने क्रममा प्रहरी र स्थानीयले उनलाई देखेर खुर्सिदको उद्धार गरेका थिए । खुर्सिदलाई बन्धक बनाइएको लेखनाथको शिशुवाचोकस्थित अशोक अधिकारीको घरको कोठाबाट एउटा मेड इन यूएसए लेखिएको पेस्तोल बरामद गरेको छ ।

प्रहरीले अपहरणमा प्रयोग गरिएको प्राइभेट कारका चालक भारतको गोरखपुर, हमादीपुर घर भई पोखरामा बस्दै आएका शाहबुद्दीन कुसेरी र नवलपरासी कावासोती ११ का अरुण घलेलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार घटनामा महिलासहित १० जनाजतिको संलग्नता छ । घटनाको अझै बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!