डडेल्धुरामा देउडा खेली तीज पर्व मनाईदै

Posted on: 04 Sep, 2016


ललित बोहरा । भदौ १९, डडेल्धुरा । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन डडेल्धुरामा सामुहिक देउडा खेली मनाईदै  छ । डडेल्धुरा सदरमुकाममा पनि बिभिन्न गैरसरकारी सघं–संस्थाहरुले नाचगान कार्यक्रमको आयोजना गरि नारीहरुलाई रमाइलो गराइरहेका छन । 

यस्तै अजयमेरु महिला सञ्जालले पनि त्यहाँ भब्य कार्यक्रमको आयोजना गरेको छ । नारी समूहहरुले एक–आपसमा नाच्दै बर्षभरिको दुःख पीडाहरुलाई बिर्सि रमाइलो गरिरहेका छन । यहाँका स्थानिय ब्रतालु महिलाहरु साँझपख घर तथा टोल–टोलमा नाचजान गर्ने योजनामा छन । सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा पाइन्छ । हिन्दू नारीहरुको महान धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । 

भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।  सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला डडेल्धुराका बिभिन्न शिवालयहरुमा बिहानपस पुजाआजा गर्नमा ब्यस्त रहेका थिए । यस दिन शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!