भोजपुरमा आठौँ दिनमा बल्ल उडान

Posted on: 14 Sep, 2016

भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन सकिरहेको थिएन भने नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको थियो । मौसमकै कारण नियमित उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ, जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँका लागि दुईजना सिफारिस गर्ने गरिएको छ । निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको थियो तर सो उडान पनि विगत चार महिनादेखि बन्द रहेको छ । 

भोजपुरमा नेपाल वायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ भने काठमाडौँका लागि चार उडान भर्दैै आएको छ । 

यसैबीच, अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर—घोरेटार, भोजपुर—दिङ्ला र भोजपुर—अन्नपूर्ण—चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा अबरोध आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!