तेह्रथुममा पहिलो पटक इन्द्रजात्रा मनाइयो

Posted on: 15 Sep, 2016

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । उपत्यकामा विशेष महत्वकासाथ मनाइने सांस्कृतिक पर्व इन्द्रजात्रा यसवर्ष पहिलो पटक तेह्रथुममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ । झिंगु परोकार समाज तथा मिसा पुचः को संयुक्त आयोजनामा विहीबार वर्षा र सहकालका देवता इन्द्रको पुजा आराधनासहित इन्द्रजात्रा मनाइएको हो । 

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व विशेषगरी उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर  तथा धुलिखेल र दोलखा लगायत ठाउँमा मात्रै मनाइन्थ्यो । तर यो वर्षबाट यहाँको नेवारी समुदायको अगुवाईमा मनाउन थालिएको हो । 

म्याङलुङ्गस्थित सिंहवाहिनी मन्दिर अगाडि आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने र राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले पर्वका अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा झिंगु परोपकार समाजका पुर्वअध्यक्ष नारायणलाल श्रेष्ठले कार्यक्रमको औचित्यबारे प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा गाईजात्राका अवसरमा निकालिएको रोपाई जात्रा तथा लाखे नाँचमा सहभागी उत्कृष्ट कलाकारहरुलाई पुरस्कृत गरिएको थियो । रोपाई जात्रामा सहभागी कलाकारहरुमध्ये सुनिल प्रधान प्रथम, मिलन श्रेष्ठ द्धितीय, रघुपति श्रेष्ठ तृतीय, खड्ग श्रेष्ठ र विवेकभगत प्रधानाङ्ग सान्त्वाना हुनुभएको छ ।

 प्रथम, द्धितीय, तृतीय र सान्त्वानालाई नगद ११ सय, ७ सय, ५ सय र ३ सय रुपैयाँले पुरस्कृत गरिएको आयोजक झिंगु परोपकार समाजका सचिव राजेशराज जोशीले बताए । सो अवसरमा नेवारी समुदायका विशेष परिकारहरु सम्मिलिट समयबजि समेत खुवाइएको थियो । 

कार्यक्रम झिंगु परोपकार समाजका अध्यक्ष शुभभगत प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको हो । 

भाद्र शुक्ल द्धादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपुर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाँचगान, रथजात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ । 

लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने  गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!