जुद्ध उच्च माध्यमिक विद्यालयको ५ ओटा कम्प्युटर चोरी

Posted on: 03 Apr, 2016

चैत्र २१, रौतहट । जुद्ध उच्च माध्यमिक विद्यालयबाट ५ वटा कम्पुटर चोरी भएको छ।

चोरले कम्प्युटर कक्षको दुईवटा ताला खोलेर कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीहरु निकाली फेरि ताल्चा बन्द गरेको अवस्थामा भएको चोरी रहस्यमय रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

विद्यालय कर्मचारी नै कम्प्युटर चोरीमा संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धानकै क्रममा विद्यालयका कर्मचारी सुरेन्द्र झा, गेटपाले सीताराम मिश्र र मिश्रका छोरा आशुतोष मिश्रलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता बीरेन्द्र पासवानले जानकारी दिए ।

गौर नगरपालिका वडा नम्वर ५ स्थित सो विद्यालय जुद्ध उमाविमा शनिवार दिउँसो विद्यालय प्रशासनको काम विशेषले कम्प्युटर कक्षको ताला खोलेर हेर्दा पाँच वटा कम्प्यूटर थिएनन्।

त्यसपछि हल्लीखल्ली भएको थियो। कम्प्युटर हराएको खबर थाहा पाउनासाथ प्रधानाध्यापक बैद्यनाथ साहले कम्प्यूटर कोठाबाटै रहस्यमय तरीकाले चोरी भएको सूचना प्रहरीलाई दिएका थिए।

यसअघि पनि धरहरी, खेसरहिया, कटहरिया, माधोपुर लगायतका विद्यालयमा कम्प्युटर चोरीका घटना भएका थिए।

विद्यालय तथा विद्यार्थीहरुको महत्वपुर्ण डाटा चोरी भएको कम्प्युटरमा रहेको विद्यालय प्रशासनले जनाएको छ। कम्प्युटर चोरीमा विद्यालय कर्मचारी तथा विद्यार्थीको संलग्नता हुनसक्ने प्रधानाध्यापक साहको अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!