सोलुखुम्बुमा ६ जना आमाको अकालमै ज्यान गयो

Posted on: 08 Jun, 2018

जेठ २५, सोलुखुम्बु | चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ । 

चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका रहेका छन् । कम उमेरमा गर्भाधान, स्वास्थ्य संस्थामा नियमित जाँच नगर्ने, मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति नगराउने र समयमा नै उपचारमा नपुग्दा उनीहरुको मृत्यु भएको डा शेर्पाको भनाइ छ । 

मृत्यु हुनेमा थुलुङ दूधकोशी गाउँपालिका देउसा चराखुकी १८ वर्षीया महिलाको शिशुलाई जन्म दिएपछि साल अड्किनाका साथै अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो । यस्तै सोही गाउँकी १८ देखि ३० वर्षकी अर्की महिलाको समेत अत्यधिक रक्तश्राव भएर तत्काल थप उपचार गर्न नसक्दा मृत्यु भएको डा शर्पाको भनाइ छ । 

यस्तै महाकुलुङ गाउँपालिका पेल्माङकी ३२ वर्षीया र सोलु दूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ५० वर्षीया महिलाको समेत अत्यधिक रक्तश्राव भएर थप उपचार नहुँदा मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

यस्तै माप्य दूधकोशी गाउँपालिका काँकुकी २४ वर्षीया महिलाको समेत समयमा उपचार हुन नसक्दा रक्तश्रावकै कारण मृत्यु भएको प्रमुख डा शेर्पाले बताउनुभयो । 

उनीहरुमध्ये चारजनाको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनुका साथै अस्पतालमा प्रसूति नगराउँदा मृत्यु भएको बताइन्छ । जिल्लामा कम समयमा बच्चा जन्माउनु, स्वास्थ्य संस्थामा नियमित जाँच नगराउनु, धेरै बच्च जन्माउनु खानपानमा समेत ध्यान नदिनुलगायतले आमाको ज्यान जाने गरेको कार्यालयको भनाइ छ । जनचेतना अभावकै कारण मातृ मृत्युदर कम हुन नसकेको डा शेर्पाको भनाइ छ ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!