सोलुखुम्बुमा भुई स्याउ र किबीफल प्रशोधन केन्द्र स्थापना हुने

Posted on: 06 Jan, 2018

पुस २२, सोलुखुम्बु । सोलुखुम्बु दूधकौशिका गाउँपालिका–१ नेलेमा किबी फल र भुई स्याउको प्रशोधन केन्द्र स्थापना हुने भएको छ । 

कृषि विकास मन्त्रालयमार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदानमा एनप्याक प्राइभेट लिमिटेडले प्रशोधन केन्द्र खोल्न लागेको हो । 

किबी र भुई स्याउको प्रशोधन केन्द्र खोल्नका लागि बिहीबार मात्र स्थलगत अनुगमन गरिएको बागवानी केन्द्र फाप्लु सोलुखुम्बुका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । 

बागवानी केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठको संयोजकत्वमा जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक पूर्णराज कार्कीसहितको टोलीले प्रशोधन केन्द्र स्थापनाका लागि सो ठाउँ उपयुक्त भएको निष्र्कष निकालेको छ । 

प्रशोधन केन्द्र स्थापनाका लागि सरकारले रु ७५ लाख लागानी गर्ने बागवानी केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । चालु आव २०७४÷७५ भित्र प्रशोधन केन्द्र स्थापना गरिसक्नुपर्ने छ । 

प्रशोधन केन्द्रमा बजारमा बिक्री हुन नसकेका विभिन्न फलफूल प्रशोधन गरेर जुस, जामलगायत तयार गरिने र किसानले फाइदा लिन सक्ने जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले बताउनुभयो । 

पछिल्लो समय सोलुखुम्बुका अधिकांश कृषक भुई स्याउ र किबी खेतीतर्फ आकर्षित बन्दै गएका छन् । जिल्ला कृषि विकास कार्यालय, हिमाली आयोजना, प्याक्टलगायत परियोजनाको सहयोगमा विभिन्न क्षेत्रका किसानले २२ हेक्टर क्षेत्रफलमा किबी खेती गरेको कृषि विकास अधिकृत नेत्र भण्डारीले जानकारी दिनुभयो । 

अधिकृत भण्डारीका अनुसार किबीफल खेतीका लागि सोलुखुम्बुको हावापानी उपयुक्त मानिन्छ । यहाँका किसानले हेवार्ड र मुन्टे जातको किबी लगाएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!