ठेकेदार बेपत्ता भएपछि नौ महिनादेखि भवन निर्माण अलपत्र

Posted on: 14 Jan, 2017

माघ १, सोलुखुम्बु । ठेकेदारको बेवास्ताका कारण सोलुखुम्बुको स्वास्थ्य र वन कार्यालयको भवन निर्माण कार्य नौ महिनादेखि अलपत्र परेको छ । 

जिल्ला स्वास्थ्य कार्यलयको फाप्लुमा निर्माण हुँदै गरेको भवन र जिल्ला वन कार्यलयको भवन गत वैशाख महिनादेखि नै निर्माण कार्य रोकिएको हो । निलगिरि निर्माण सेवा प्रालिले ठेक्कामा लिएको भवन आगामी महिना हस्तान्तरण गरिनुपर्ने भए पनि दुवै भवन आधा निर्माण गरी अलपत्र छाडिएको छ । 

सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको बजेटमा निर्माण भइरहेको ती भवनको ठेकेदारका बारेमा सहरी विकास कार्यालयलाईसमेत जानकारी छैन । वैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको ठेक्केदार कम्पनीका मानिस अहिलेसम्म सम्पर्कमा नआएको सहरी विकास तथा भवन निर्माण कार्यलयका प्रमुख सुवास बस्नेतले जानकारी दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयको भवन रु दुई करोड ३८ लाखमा ठेक्का सम्झौता भएको हो भने जिल्ला वन कार्यलयको भवन रु एक करोड २९ लाखमा सम्झौता भएको थियो । दुवै भवनको आधा काम मात्रै सकिएको छ । दुवै कार्यालयको भवन निर्माण अवधि दुई वर्ष तोकिएको थियो । 

ठेक्केदार बेपत्ता भएपछि स्थलगत रुपमा खटिने कामदारले समेत पारिश्रमिक पाएका छैनन् । सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख बस्नेतले भने ठेकेदार बेपत्ता भएपछि खोजीका लागि ठेक्का कम्पनीले कारोबार गर्ने नेपाल बङ्गलादेश बैंकमा खाता रोक्का गर्न निवेदनसमेत पठाइसकेको बताउनुभयो । 

भवन निर्माण नहुँदा जिल्ला स्वास्थ्य कार्यालय भाडाको भवनमा छ भने वन कार्यालयले इलाका रेन्जपोस्टको साँघुरो भवनमा काम गरिरहनुपरेको जिल्ला वन कार्यलयका प्रमुख मेघराज रायले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!