ढलले बस्ती दुर्गन्धित

Posted on: 06 Aug, 2018

साउन २१, सोलुखुम्बु  | बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको छ । 

फाप्लु बजारको घरघरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् । मागबारे सुनुवाइ भएको छैन । स्थानीयवासी दिकुमार बराइलीले भन्नुभयो, “घर नजीकैको खोल्सामा दिसासहितको ढल छ, दुर्गन्धले बसिनसक्नु भएको छ ।” दुर्गन्धका कारण स्थानीयवासी बिरामी पर्ने गरेको उहाँले बताउनुभयो । 

सो बस्तीमा १६ दलित परिवारको बसोवास छ । बस्तीभन्दा माथि फाप्लु बजार रहेको छ । वडाध्यक्ष दावागेलु पाख्रिनको घर पनि सोही बजारमा रहेको छ । “दुर्गन्धले घरमा बस्नै मुश्किल छ”, स्थानीयवासी चेतनारायण विश्वकर्माले भन्नुभयो । घाम लागेका बेला दुर्गन्ध बढी फैलिने गरेको छ । खानेपानीको मुहान नजीकै ढल बग्छ । त्यही मुहानको पानी स्थानीयवासी प्रयोग गर्न बाध्य छन् । 

नगरपालिका–४ का वडाध्यक्ष पाख्रिन ढल व्यवस्थापनका लागि रकम अभाव रहेको बताउनुहुन्छ । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद शर्माले खानेपानी तथा सरसफाइ कार्यालय जिल्लामा नरहने भएकाले ढल व्यवस्थापनको काम नगरपालिकाले गर्नुपर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!