लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

Posted on: 12 Oct, 2019

असोज २५, काठमाडौँ | सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८:३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो ।

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।

चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिनुभयो । तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९एन–आई–ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ । यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।

यही असोज १४ गतेदेखि २ महीनाका लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुन थालेको छ । पर्यटकीय सिजनमा उक्त विमानस्थल प्रयोग गरिँदै आएको उक्त विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० सम्म उडान हुने गरेको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!