पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा

Posted on: 23 Nov, 2016


मङ्सिर ८, कनकाई ।
सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ फाइनलमा पुगेको छ । 

बुधबार भएको खेलमा एपीएफले पुलिसलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो ।अब उसले विहीबार रुपन्देही–११ र मनाङ मस्र्याङ्दी बीचको खेलमा विजयी हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

पुलिसका बुद्ध लामाले पोष्ट बाहिर प्रहार गरे । एपीएफका नविन लामा, आदित्य चौधरी, मिलन राई, पासङ लामा र रञ्जन विष्टको प्रहार गोलमा परिणत भयो । पुलिसका विक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजवंशीले गोल गरे । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका राजेन्द्र रावल म्यान अफ म्याच घोषित भए । उनलाई विर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मोबायल दोकानका प्रोप्राइटर पवन खतिवडाले १५ हजार रुपैयाँ बराबरको मोबायल प्रदान गरे । 

प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउने आयोजक सुरुङ्गा जेसिजका भीम भट्टराईले बताए । 

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!