साफ च्याम्पियनसिप महिला फुटबल: नेपालद्वारा श्रीलंका पराजित

Posted on: 30 Dec, 2016


पुस १३, काठमाडौं । चौथो साफ च्याम्पियनशिप महिला फुटबल अन्तर्गत लगातार तेश्रो जित दिलाउने क्रममा नेपालले आज पनि श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको छ  ।

निकै प्रतिष्पर्धी बनेको खेलमा नेपालले अन्तिम समयमा श्रीलंकाको पोष्टमा १ गोल गर्दै आफ्नो लगातार जितलाई निरन्तरता दिन सफल बन्यो । खेलमा नेपालको जितका लागि सपना लामाले निर्णायक गोल गरेकी थिइन । निर्धारित समयको खेल सकिन ३ मिनेट मात्र बाँकी छँदा उनले गोल गरेकी हुन् । 

आजको जितसँगै नेपाल महिला साफ च्याम्पियनसिपमा समूह विजेता समेत बनेको छ । आफ्नो ३ खेलबाट नेपालले ९ अंक जोड्दै समूह 'ए'को विजेता बनेको छ । 

यस अघिका आफ्ना दुई खेलमा नेपालले भुटानलाई ८-० गोल र माल्दिभ्सलाई ९-० गोल अन्तरले पराजित गरेको थियो । अघिल्लो खेलहरुमा झैँ गोलको बर्षा गराउन नसकेपनि आज नेपालले श्रीलंकालाई निकै दवाबमा राखेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!