भारतको पञ्जाब एफसीलाई ५–० गोल पराजित गर्दै सुदूरपश्चिम ११ सेमिफाईनलमा प्रवेश

Posted on: 08 Jan, 2017


दिनेश ठकुल्ल । पुष २४, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, वाई पाएर क्वाटरफाइनलमा पुगेको घरेलु टोलीले आज भारतको पञ्जाब एफसीलाई ५–० गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो टिम आयोजक सुदूरपश्चिम–११ नै बनेको छ । धनगढी स्थित क्षेत्रीय रङ्गशालामा भएको रोमाञ्चक खेलमा आयोजक टिम खेल अवधिभरी नै पञ्जाबमाथि हावी भएको थियो । घरेलु टिमले पहिलो हाफमा ३ र दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । खेल मैदानमा खचाखच भरिएका घरेलु दर्शकको साथ पाएको आयोजक सुदूरपश्चिम–११ ले मनिराम चौधरी (म्याक्स) को गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको १४ औं मिनेटमा नै चौधरीले गोल गर्नु भएको थियो । पहिलो हाफकै ३८ औं मिनेटमा सुमित दुवेले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ४३ औं मिनेटमा मनिराम चौधरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै आफ्ना समर्थकको मन जित्नुभयो ।

मध्यान्तरपछिको ५९ औं मिनेटमा थप एक गोल गर्दै चौधरीले ह्याट्रिक पूरा गर्नुभयो । उहाँ म्यान अफ द म्याच घोषित भइ पुरस्कृत समेत हुनुभयो । निर्धारित समय सकिएपछि थप भएको अतिरिक्त समयको पहिलो मिनेटमा प्रणय अञ्जानले गोल गर्दै विपक्षी टिमलाई स्तब्ध पार्नुभयो । खेलमा सुदूरपश्चिम–११ सामू निरीह देखिएको पञ्जाब एफसीले केहि मौका भने नपाएको होईन । सो टिमले पाएको मौकालाई गोलमा परिणत गर्न सकेन । यसअघि, नेपालगञ्ज–११ विरुद्ध राम्रो खेल प्रदर्शन गरेका पञ्जाब एफसीका खेलाडीहरु घरेलु टिम विरुद्ध निरीह भएका थिए । उक्त टिमका खेलाडीहरु आत्तिएर मैदानमै अपशब्द प्रयोग गर्ने जस्ता व्यवहार देखाइरहेका थिए । अपशब्द बोलेकै कारण रेफ्रीले भारतका एक खेलाडीलाई पहेलो कार्ड देखाउनु भएको थियो ।

प्रतियोगितामा भोली पहिलो खेल सङ्कटा र जगदम्बा लुम्बिनीबीच र दोस्रो खेल पोखराको सहारा युवा क्लब र दिल्ली युनाइटेडबीच हुने आयोजकले जानकारी दिएको छ । माघ १ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख र उपविजेताले दुई लाख ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!