पर्वतमा प्रथम दिदीबहिनी कप भलिबल प्रतियोगिता हुने

Posted on: 27 Jan, 2017

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । कुश्मा बजारमा हुन् लागेको बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सवकै अवसरमा हुन् लागेको दिदीबहिनी कप भलिबल आगामी फागुन २४ देखि २८ गतेसम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहने छ । नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल सघको प्राबिधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहने छ । प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन् । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन भने व्यक्तिगत बिधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३ – ३ हजार पुरस्कार पाउने छन् । अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको खेल हेर्नको लागि दर्शकलाई ५० र ७५ रुपैयाको टिकट राखिएको छ ।कार्यक्रममा बोल्दै आयोजक रेडियोका अध्यक्ष तथा सांसद कल्पना चापागाईले नेपालको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल खेल्न सकिने र महिलाहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गर्न लागेको बताइन । कार्यक्रममा सासद तथा मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल भलिबल सघका महासचिव जितेन्द्र चन्द, भलिबल संघका उपाध्यक्ष रन्जन खड्का लगायतको उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!