बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य

Posted on: 28 Mar, 2017

चैत १५, काठमाडौं ।  बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले आज नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । 

टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बङ्गलादेशको २३ वर्षमुनिको टिमले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो ।

बङ्गलादेशका लागि नासिर हुसैनले सतक हाने । उनले अविजित रहँदै ११५ बलमा १०९ रन बनाए । यसमा दुई छक्का र १२ चौका सामेल थियो । कप्तान मोमिनुल हकले ७८ बलमा सात चौकाको मद्दतमा ६१ रन तथा अबुल हसनले २९ रन बनाए । 

बलिङतर्फ नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै एक मेडन राखि ४६ रन खर्चेका थिए । यस्तै सन्दिप लामिछानेले १० ओभरमा ४१ रन दिँदै दुई विकेट लिए । मेहबुब आलम, कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट बाँडे । यसअघि सोमबार पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!