पोखरामा नेट बल खेलको प्रशिक्षण शुरु

Posted on: 15 Jul, 2017

असार ३१, पोखरा । यहाँ पहिलो पटक शुक्रबारदेखि नेट बल प्रशिक्षण शुरु भएको छ । 

नेपाल नेट बल संघले पश्चिमाञ्चल विकास क्षेत्रलाई केन्द्रित गर्दै शुरु गरेको प्रशिक्षणमा ४० जनाको सहभागिता छ । सन् १८०० मा अमेरिकाबाट शुरु भएको नेट बल खेल अधिकांश देशमा खेल्ने गरिन्छ । 

नेपालमा छ वर्षअघि भित्रिएको नेट बल खेल राजधानी केन्द्रित रहे पनि यसलाई नेपालभर विस्तार गर्न प्रशिक्षण शुरु गरिएको संघका महासचिव दीपक लामाले बताउनुभयो । 

एक सय फिट लम्बाइ र ५० फिट चैडाइ रहेको खेल मैदानमा सात÷सात खेलाडीले खेल्न सक्ने छन् । विशेष गरी महिलाका लागि भनिएको यो खेलमा अहिले पुरुषसमेतको सहभागिता रहने गरेको छ । 

हाल नेपालमा यो खेलका ४० प्रशिक्षक छन् । खेल विस्तारका लागि विद्यालय केन्द्रित गरिएको छ । चार दिनसम्म चल्ने सो कार्यक्रममा अष्ट्रेलियाली प्रशिक्षक स्टेफेनी एन्डरशनले प्रशिक्षण दिने कार्यक्रम छ । 

प्रशिक्षणको शुभारम्भ कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङले नेट बलको खेलले यस क्षेत्रका महिलाको सशक्तीकरणमा राम्रो भूमिका खेल्न सक्ने बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!