यू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको सानदार जित

Posted on: 21 Jul, 2017


साउन ६, काठमाडौं । यू-१९ विश्वकपको एसियाली छनोटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगितामा तेस्रो जित हात पारको हो । 

इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । जवाफमा आएका सिंगापुरलाई पनि त्यत्ति नै ओभरमा १ सय ४६ रनमा अलआउट गरी नेपालले विजय हात पारेको हो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए ।

सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६ दशमलव ५ ओभरमा अल आउट भयो । सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट, किशोरी महतोले २ विकेट, दिपेन्द्रसिंह ऐरी २ विकेट र पवन सर्राफले २ विकेट लिए । 

बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ । अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार १० विकेटले पराजित गर्‍यो । नेपालभन्दा अफगानिस्तान रन रेटमा पनि निकै माथि छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!