साफ महिला फुटबल–नेपाल भारतसँग १० गोलले पराजित

Posted on: 19 Dec, 2017

पुस ४, काठमाडौँ (रासस) | बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–० को फराकिलो गोलअन्तरले पराजित भएपछि फाइनल खेल्ने नेपालको सम्भावना सकिएको हो । 

जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि यही पुस २ गते भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले गोल अन्तरले पराजित भएको थियो । 

नेपालले पहिलो र दोस्रो हाफमा समान पाँच/पाँच गोल बेहोर्यो । भारतका लागि सुनिता मुन्डा र प्रियंकादेवीले ह्याट्रिक गरे भने लेन्डा कोमले दुई तथा सन्थिया र अंनी बाइले समान एक एक गोल गरे । 

त्यस्तै प्रतियोगितामा भारत र बंगलादेश एक खेल अगावै फाइनलमा प्रवेश गरेका छन् । आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले गोलअन्तरले हरायो । 

भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । भुटानले दुई खेलबाट ६ गोल खाएको छ भने यता समान खेलबाट नेपालले १६ गोल खाएको छ । प्रतियोगितामा भुटान पनि अघिल्लो चरण प्रवेशबाट बाहिरिएको छ । लिग राउण्डको अन्तिम खेल नेपालले अब यही पुस ६ गते भुटानसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!