विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल १ सय ३८ रनमै अलआउट

Posted on: 09 Feb, 2018

माघ २६, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको स्कोर १० रन हुँदा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।


दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरे । दिलिप नाथ १९ रनमा आउट भए । नेपालले थप १५ रन जोड्दा अर्का विकेट गुमायो । आरिफ शेख मात्र ६ रनमा पभेलियन फर्किए । नेपालको स्कोरमा थप ३ रन थपिँदा कप्तान पारस व्यक्तिगत १७ रनमा आउट हुन पुगे ।

शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ३६ रनको साझेदारी गरे । ऐरी २० रनमा आउट भए । बिहीबार नामिबियाविरुद्ध नेपाललाई रोमाञ्चक जित दिलाएका बसन्त रेग्मी मात्र १ रनमा पभेलियन फर्किए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपालले ४५.६ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । शरभ भेषावकरले २२ रन बनाए भने सोमपाल कामीले १७ र रोहितकुमार पौडेलले १४ रन जोडे । करढढा केसी ४ रनमा आउट भए ।

नेपाललाई सस्तैमा अलआउट गर्ने क्रममा खलिमउल्लाह एक्लैले चार विकेट लिएका छन् । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!