आइपिएलका लागि लामिछाने भोली भारत जाँदै

Posted on: 26 Mar, 2018

चैत १२, काठमाडौँ (रासस) | विश्व क्रिकेटको सबैभन्दा ठूलो एवं व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । 

दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो । भारत जानुअघि आज आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आइपिएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुशी लागेको प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरका रुपमा लिएको बताउनुभयो । 

क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागु गरिने जानकारी दिनुभयो । आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!