पल्सर स्पोर्टस् अवार्ड जेठमा हुने

Posted on: 10 Apr, 2018

चैत २७ काठमाडौँ | नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ । 

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षकलाई आगामी जेठ ४ गते सम्मान गर्ने कार्यक्रम रहेको मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिनुभयो । 

विगतका वर्ष जस्तै यसपटक पनि पल्सर स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिनेछ । 

हंसराज हुलासचन्द्र एण्ड कम्पनीले उक्त सम्मान कार्यक्रमको लागि यसपटक रु २० लाख बराबरको सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमा सो कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

उक्त सम्झौता नवीकरण मात्र हो । कम्पनीले मञ्चसँग आठ वर्षको लागि यसअघि नै सम्झौता गरिसकेको छ । कम्पनीका निर्देशक गोल्छाले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकूद भएकाले यसले आम जनतालाई एकतामा बाँध्ने कामसमेत गर्ने विचार व्यक्त गर्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!