रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

Posted on: 18 Apr, 2018

वैशाख ५ काठमाडौँ | रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् । 

बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । 

फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । उक्त कार्यक्रमका अवसरमा विश्वभरका बालबालिकाबीच एक अर्काको संस्कृती आदानप्रदान हुनेछ । दुई सय १० देशका यूवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको बताइएको छ । 

यही जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश यूवा फुटबलरका रुपमा भाग लिनेछन् । त्यहाँ ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुने छ । अनमेश यूवा पत्रकारको रुपमा सहभागि हुनेछन् । दुवैजनाले रुसमै हुने ‘फुटबल फर फ्रेन्डशिप अन्तर्राष्ट्रिय बालबालिका फोरम’को छैटौँ संस्करणमा समेत भाग लिनेछन् । उनीहरुले विश्वकपको फुटबलको उद्घाटन कार्यक्रम तथा खेल हेर्न पाउने बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!