सर्वाधिक धनराशी पुरस्कारको भलिबल प्रतियोगिता जेठ पहिलो हप्ता खोटाङमा हुने

Posted on: 07 May, 2018

चिसाङ शेर्पा/बैशाख÷२४ खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक धनराशी पुरस्कारको पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ७ टेम्मास्थित कृष्ण माविको प्राङगणमा आगामी जेठ १० गतेदेखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । 

खेलकुदको माध्यमबाट गाउँपालिकाको पर्यटन र प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम टिमले १ लाख ३० हजार, दोश्रो टिमले ८० हजार, तेश्रो टिमले ५० हजार र महिलातर्फ प्रथम टिमले ५० हजार, दोश्रो टिमले ३५ हजार, तेश्रो टिमले २५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छन् । 

प्रतियोगिताका महिला÷पुरुष उत्कृष्ट खेलाडी, अनुशासीत खेलाडीले ५÷५ हजार नगद पुरस्कार पाउने गाउँपालिका उपप्रमुख सपना राईले बताईन् । प्रतियोगितासँगै एकल नृत्य प्रतियोगिता समेत हुनेछ । नृत्यतर्फ पहिलोले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार पुरस्कार पाउने छन् । भलिबलका लागि पुरुषतर्फ ५ हजार, महिलातर्फ २ हजार र एकल नृत्यका लागि ५ सय टिमदर्ता शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ । 

मुलुक संघिय संरचनामा गईसकेपछि गाउँपालिका तथा नगरपालिकाको हकमा सबैभन्दा ठूलो धनराशी पुरस्कारमा हुने प्रतियोगिता जिल्लाको इतिहासमा पहिलो रेर्कड भएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । प्रतियोगिताका लागि स्वयंसेवक परिचालन समिति, अतिथि व्यवस्थापन समिति, आवास व्यवस्थापन समिति र खेलकुद सञ्चालन उपसमिति गठनसँगै सम्पुर्ण तयारी पुरा भएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!