विश्वकपमा सेनेगलको भाग्य: पहिलो गोल आत्मघाती, दोस्रो गोल खाली पोस्टमा

Posted on: 19 Jun, 2018

असार ५, काठमाडौँ | रुसमा जारी विश्वकप अन्तर्गत मंगलबार राति भएको पोल्याण्ड र सेनेगालको खेल निकै रोचक बन्यो । बलियो टिम मानिएको पोल्याण्डले धेरै पटक गोल गर्ने अवसर गुमायो तर सेनेगालमा गोल गर्न त्यति असहज भएन । 

रुसको मस्को स्पार्कटक स्टेडियमममा भएको सेनेगाल र पोल्याण्ड बीचको खेलमा पहिलो हाफको ३८ औं मिनेटमा पोल्याण्डका खेलाडी थियागो रेन्जेल सियोनेकले आत्माघाती गोल गरेर सेनेगाललाई अग्रता दिलाईदिए । काउन्टर अट्याकका क्रममा सेनेगालका इद्रिसा गुइले प्रहार गरेको बल क्लियर गर्ने क्रममा थिएगोले आफ्नै पोस्टको जाली चुमाएका हुन् ।


फेरी अर्को गोल झनै रोचक बन्यो । दोश्रो हाफपछी ६० औं मिनेटमा सेनेगालका माइ नाइङले खालि पोष्टमा गोल गरिदिए । पोल्याण्डका गोलकिपर बल खोस्न डिबक्सबाट धेरै परसम्म पुगेपछि उनलाई समेत छलेर माइ नाइङले खालि पोष्टमा सजिलै गोल गर्दै सेनेगाललाई २ गोलको अग्रतामा अझै बलियो बनाए । 


त्यसपछि पोल्याण्डले खेलको ८५ औं मिनेटमा फ्रिकिक पायो । पियोटर जिलिन्स्कीले प्रहार गरेको फ्रिकिकमा ग्रिजेगोर्ज क्रिचोविकले उत्कृष्ट गोल गरेका थिए । त्यसपछि पनि लगातार आक्रमण गरेको पोल्यान्डले थप गोल गर्न भने सकेन । 

यसअघि २००२ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा नै पहिलो खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको सेनेगल त्यसबेला क्वार्टरफाइनलसम्म पुगेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!