पोर्चुगल र स्पेन अन्तिम १६ मा प्रवेश, समूह बिजेता को ?

Posted on: 26 Jun, 2018

असार १२, काठमाडौँ | विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ को निकै रोमान्चक खेलमा पोर्चुगल र स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । 

इरानसँग १-१ गोलको बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ भने एकै समयमा भएको स्पेन र मोरक्कोको खेल पनि बराबरीमा रोकिएपछी स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ । खेल तालिका अनुसार ग्रुप 'बि' मा समान ५/५ अंक सहित पोर्चुगल र स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका हुन् । स्पेन अंक तालिकाको सबैभन्दा माथिल्लो स्थानमा छ । 

खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरेका थिए, खेलको ५३ औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने मौका गुमाएका थिए ।


उता खेलको अन्तिमतिर पेनाल्टी क्षेत्रमा पोर्चुगलले फल गरेपछि इरानले पेनाल्टीलाई सदुपयोग गर्दै पोर्चुगलसँग बराबरी गर्यो । जसको कारण निकै संघर्षपूर्ण बनेको खेल बराबरीमा सकिएको थियो ।

यस अघि खेलमा मोर्डोभिया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । 

उता विश्वकपको अर्को खेलमा स्पेन र मोरक्कोबीच निकै रोमान्चित खेल भयो । यस अघि २ खेलमा पराजित मोरक्कोले आज स्पेनलाई २-२ को बराबरीमा रोक्दै निकै आकर्षक प्रदर्शन गरेको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!